नवलपरासी,३ जेठ ।
अखिल (क्रान्तिकारी) नवलपरासीले संगठनका केन्द्रीय संयोजक मिलन राईलाई ससम्मान रिहाइ नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

बुधबार अखिल क्रान्तिकारीले सुस्ता-१ रुपौलिया चोकमा आयोजना गरेको बिरोध कार्यक्रममा संगठनले उक्त चेतावनी दिएको हो ।

६० औं बिद्यार्थी एकता दिवसको पुर्व सन्ध्यामा कार्यक्रम बिथोल्ने कुत्सित मानसिकताले राई लाई गिरफ्तार गरेर कथित अभद्र ब्यवहारको मुद्दा चलाउनु हास्यास्पद रहेको संगठनले जनाएको छ ।

बिरोध कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवं जिल्ला संयोजक सन्देश सापकोटाले राजनैतिक शैक्षिक आन्दोलनमा बिद्यार्थीहरु निभाएको भूमिकाको चर्चा गर्दै हरेक आन्दोलनमा विद्यार्थीहरु अग्रमोर्चामा रहेको स्मरण गरे । उनले दलाल सत्ता र ब्यवस्थाको विरुद्ध विद्यार्थीहरुले आन्दोलन गर्नुपर्ने बताउदै संगठनका केन्द्रीय संयोजक मिलन राई लाई तत्काल रिहाई नगरे सम्म कडा प्रतिबादमा उत्रिने चेतावनी दिए ।

यसैबीच अखिल क्रान्तिकारी रूपन्देहीले पनि संगठनका केन्द्रीय संयोजक राईको रिहाइको माग गर्दै बुधबार बुटवलमा काेणसभा सम्पन्न गरेको जिल्ला अध्यक्ष मनाेज थापाले जानकारी दिए ।

क्रान्तिकारीले जेठ ६ गते शैक्षिक हडताल सहितको आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।