बुटवल,२ जेठ ।
बुटवल–१२ नयाँगाउँमा भोलि जेठ ३ गतेदेखि प्रथम साँस्कृतिक रमाइलो मेला–लाग्ने भएको छ । स्थानीय फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिले नयाँगाउँस्थित भार्सेली टोलमा मेला आयोजना गरेको हो । आयोजक फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिले बुधबार पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।

साँस्कृतिक तथा पर्यटनको बिकासमा टेवा पु¥याउने उद्वेश्यका साथ मेलाको आयोजना गरिएको प्रालिका अध्यक्ष गोविन्द भुसाल जानकारी दिए । मेलामा साँस्कृतिक कार्यक्रम, डान्स आइडल सँगै बाल उद्यान, टोटल र व्यापारीक स्टलहरु रहनेछन् । मेला दिउँसो ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने अध्यक्ष भुसालले बताए ।

मेलामा स्थानीय कलाकारसँगै राष्ट्रियरूपमा ख्याति कमाएका बद्री पंगेनी, ज्योति मगर, प्रिती आले, प्रकाश दुतराज, धुर्मस सुन्तली, पल शाह लगायतले प्रस्तुति रहने आयोजकले जनाएका छन् । त्यस्तै मेलामा डान्स आइडल समेत आयोजना गरिएको छ । डान्स आइडलमा प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार प्रदान गर्ने अध्यक्ष भुसालले बताए ।

मेलामा प्रबेशका लागि सय रुपैयाँ टिकट तोकिएको छ भने विद्यार्थीलाई सहुलियतमा ७० रुपैयाँ कायम गरीएको छ । यस्तै जेष्ठ नागरीक र ५ वर्ष मुनिका बालबालिकाका लागि भने निःशुल्क प्रबेशको व्यवस्था गरीएको अध्यक्ष भुसालले बताए ।
उनका अनुसार मेलामा व्यावसायिक, कृषि, बाल उद्यान, होटल तथा रेष्टुराँ गरी ३० बढी स्टल रहनेछन् । १६ दिनसम्म चल्ने मेला १९ गते समापन हुनेछ ।

मेला अवधिभरमा करिब ५० हजार बढी दर्शकले अबलोकन गर्ने अनुमान गरिएको छ । मेलालाई उपकार आमा समुह नयाँगाउँ, संगम टोल विकास संस्था लगायतले सहयोग गरेका छन् भने सह–आयोजकमा बुटवल उपमहानगरपालिका १२ र १३ वडा कार्यलय रहेका छन् ।