बुटवल,२ जेठ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सुशासन प्रवर्द्धन गर्ने कुरामा बुटवल उपमहानगरपालिका प्रतिवद्व रहेको बताएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगकाे कार्यालय बुटवलकाे आयोजना र बुटवल उपमहानगरपालिकाकाे समन्वयमा बुधबार बुटवलमा आयाेजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि कार्यक्रममा नगर प्रमुख पाण्डेयले सुशासन प्रवर्द्धनमा आफुहरू प्रतिवद्व रहेको बताउदै एक दुई दिन ढिलो भए पनि आवश्यक प्रक्रिया पुरा गरेर मात्रै काम अगाडि बढाउन जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आग्रह गरे ।

काम गर्ने क्रममा कमिकमजाेरी हुनसक्ने भन्दै उनलेे नियतवश गरिएको हो या भुलवश गल्ती भएको हो भन्ने बिषयमा आयाेगले ध्यान दिनुपर्नेमा जाेड दिए ।

विकासमा बाधा पुर्‍याउने र दुख दिने नियतले पनि उजुरी प्रबृत्ति देखिएको भन्दै उनलेे त्यस्ताे कार्यलाई निरूत्साहित गर्नुपर्ने बताए ।

उपप्रमुख सावित्रा देवी अर्यालले पनि पछिल्लो समय दुख दिने नियतले पनि उजुरी पर्ने गरेको भन्दै त्यसलाई न्युनिकरण गर्न जरुरी रहेको बताइन् ।

भ्रष्टाचारको कसुरमा पक्राउ परेर अदालतबाट सफाई पाएका उदाहरण पनि रहेको भन्दै उनलेे उसमाथि लागेको भ्रष्टाचारीकाे दाग कसरी मेटाउने भनी प्रश्न गरिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख राजेन्द्रकुमार पाैडेलले समाजमा सदाचार प्रवर्द्धन गर्न घर घर बाटै अभियान चलाउनुपर्नेमा जाेड दिदै गलत काम नगरे उजुरी पर्दैमा डराउनु नपर्ने बताए ।

उनले २०६३ पछि अख्तियारकाे दायरा खुम्चयाइएकाेले आम जनताले साेचे जस्तो काम हन नसकेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बुटवलबाट भए गरेका काम कारबाही बारे प्रस्तुतिकरण गरेका थिए ।

साे अवसरमा नयाँगाउँ माविका प्रधानाध्यापक पुरूषाेत्तम भट्टराईले पछिल्लो समय अदालत,अख्तियार लगायतका संबैधानिक निकायप्रति जनताको विश्वास गुम्दै गएको भन्दै ती निकायले जनताको विश्वास जगाउने खालका काम गर्नुपर्नेमा जाेड दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि,कर्मचारी,गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूकाे सहभागीता रहेको थियो ।