बुटवल,१ जेठ ।
रूपन्देहीको भैरहवाबाट लागू औषधसहित दुई जनालाई पक्राउ परेका छन् ।
सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित लागू औषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर-१ कि २६ वर्षीया मञ्जु गुप्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
उनको शरिर तथा बस्ने घरकोठा खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले गुप्ताको साथबाट चरेस १ किलो ७५० ग्राम, फेनारागन १४१ एम्पुल, आईपीपीएल १३६ एम्पुल, डाइजोपाम (सिरिजेक) १४१ एम्पुल, स्पास्मो १७० क्याप्सुल र कोरेक्स २ बोतल बरामद गरेको छ ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट इलाका प्रहरी कार्यालय, बेलहियाको प्रहरी टोलीले सोही ठाउँका ४६ वर्षीया विजय गुप्तालाई लागू औषधसहित पक्राउ गरेको छ । उनको साथबाट फेनारागन ८९ एम्पुल, आइपीपीएल १८९ एम्पुल, डाइजोपाम (सिरिजेक) ७० एम्पुल, स्पास्मो ३१७ क्याप्सुल र नाइट्रोभेट ३४ ट्याब्लेट बरामद भएको छ । उनीहरु दुवै जनालाई रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








