बुटवल,१ जेठ ।
गुरूदेव रविशंकरको ६८ औं जन्मोत्सवको अवसरमा बुटवलमा बृहत् सत्सङ सम्पन्न भएको छ । द आर्ट अफ लिभिङ नेपाल रुपन्देहीको आयोजनामा सोमबार बुटवलमा बृहत् सत्सङ कार्यक्रम गरिएको हो ।

त्यस अवसरमा युवा भोफेन्टियरले सञ्चालन गरेको ‘पवित्रा’ परियोजनाका प्रशिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । यो परियोजना अन्तरगत रहेर ७ जना प्रशिक्षकले किशोरीहरुलाई महिनावारी सम्वन्धि प्रशिक्षण गर्दै आएका छन् ।
उनीहरुलाई द आर्ट अफ लिभिङ जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उज्ज्वलप्रसाद कसजूले खादा ओढाएर सम्मान गरेका हुन् ।
परियोजनाकी संयोजक प्रशिक्षक विएससि नर्सिङ पुजा खनालका अनुसार यो परियोजनाले किशोरीहरुलाई महिनावारीको बारेमा जानकारी दिने, सहजीकरण गर्ने र आहार तथा व्यवहारको बारेमा प्रशिक्षण गर्दछ । यो परियोजना अन्तरगत रुपन्देहीका २० वटा विद्यालयमा पुगेर १ हजार २ सय भन्दा बढी किशोरीहरुलाई महिनावारीको बारेमा जानकारी, सहजिकरण तथा आहार व्यवहारको बारेमा प्रशिक्षण गरिएको उनले जानकारी दिए ।
द आर्ट अफ लिभिङ स्वामी रविशंकरले तयार गरेको पाठ्यक्रममा आधारित छ । उहाँले गहिरो, थप आनन्दमय जीवन जिउनका लागि प्रविधि र उपकरणहरू प्रदान गर्ने पाठ्यक्रमहरू स्थापना गरेकाे संयोजक कसजूले बताए । उनका अनुसार द आर्ट अफ लिभिङ जाति, राष्ट्रियता र धर्मको सिमानाभन्दा माथि एक साझा मानव पहिचानलाई मान्यता दिने गैर नाफामूलक संस्था हो ।
विश्वका मानिसलाई उत्थान र नेतृत्व विकासका लागि तनाव व्यवस्थापन तथा अपराधमुक्त समाज निर्माणका लागि द आर्ट अफ लिभिङ फलदायी हुने पनि जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक कसजूले बताए ।
स्वामी रविशंकरले स्वयम् सेवा र सेवाको लहरलाई प्रेरित गर्नु भएको छ । परिणाम स्वरुप द आर्ट अफ लिभिङ विश्वको सबैभन्दा ठूलो स्वयंसेवकमा आधारित संस्था भएको छ । यो संस्था १८० देशमा छ । जसमा १० लाख भन्दा बढी स्वयम् सेवक रहेका छन् भने ३० हजार भन्दा बढी प्रशिक्षकहरु रहेका छन् ।








