बुटवल,३० बैशाख ।
वर्षाले पहिरो खसेर अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्ड पाँच घण्टापछि सुचारु भएको छ ।
शनिबार राति परेको बर्षाका कारण राजमार्गको तिनाउ गाउँपालिका–३, दोभानको पैठेडाँडादेखि सिद्धबाबा मन्दिरसम्म चार स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । दाभोन प्रहरी चौकीका अनुसार पहिरो खसेर आइतबार बिहान ३ बजेदेखि अवरुद्ध बनेको राजमार्ग पहिरो पन्छाएर सञ्चालनमा आएको छ ।
निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।
बिहानैदेखि ठूला मेसिन प्रयोग गरी पहिरो पन्छाइएको हो। राजमार्ग अवरुद्ध भएपछि सडकमा सयौं सवारी साधन अलपत्र परेका थिए । बुटवलदेखि पाल्पालगायत पहाडी जिल्लाका साथै पहाडबाट तराई झर्ने सवारी साधन र यात्रु अलपत्र परेकालाई गन्तव्यमा पठाइएको प्रहरीले जनाएको छ ।
लामो समयपछि परेको बर्षाबाट किसानले राहत महसुस गरेका छन् ।






