पाल्पा,२९ बैशाख ।
नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले कांग्रेसलाई सिध्याउँछु भन्नेहरु आफै सकिएर जाने बताएका छन् ।
नेपाली कांग्रेस प्रशिक्षण शाखा, पाल्पाले निस्दीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सभापति श्रेष्ठले केही दलहरु पुरानालाई सिध्याउँछु भनेर लागे पनि कांग्रेस कहिल्यै नसकिने दाबी गरे ।
उनले चन्द्र सुर्य रहुन्जेल सम्म नेपाली कांग्रेस रहने बताए । श्रेष्ठले भने, ‘पुराना दललाई सिध्याउँछु भनेर केही दलहरु लागेका छन् । कांग्रेसलाई सिद्धयाउँछु भनेर लाग्नेहरु आफै सकिएर जानेछन् ।’
मित्यालमा भएको प्रशिक्षणमा श्रेष्ठले अबको राजनीति नतिजा केन्द्रित हुनु पर्नेमा जोड दिए । अधिवेशन र चुनाव केन्द्रित राजनीतिको अन्त्य गरी कार्यकर्तालाई अघि बढ्न आग्रह गरे । उनले भने, ‘एउटा अधिवेशन बाट अर्को अधिवेशन, एउटा चुनाव बाट अर्को चुनाव केन्द्रित राजनीतिले माफत्र पार्टी चल्दैन । अब नतिजा केन्द्रित भएर लाग्नु आवश्यक छ ।’ श्रेष्ठले जनमतको आधारमा टिकट दिने व्यवस्था हुनुपर्ने समेत बताए ।
श्रेष्ठले जनताको आशा, भरोसा र विश्वासलाई केन्द्रमा राखेर अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले कांग्रेसका कार्यकर्ता भैसकेपछि अात्तिने, पात्तिने र मात्तिने छुट कसैलाई नरहेको बताए । निस्दीमा कांग्रेसको जनमत हुँदाहुँदै पनि केही प्राविधिक कारणले कांग्रेसले हार्नु परेको उनको भनाइ थियो । ‘निष्पक्ष निर्वाचन हुन्छ भने निस्दीमा कांग्रेसले निर्वाचन जित्ने आधार अझै पनि छ । त्यसैले आशाको किरण जगाएर अघि बढ्नु अावश्यक छ ।’-उनले भने । उनले युवाहरुलाई आयअार्जन संग जोडिएर अघि बढ्न समेत आग्रह गरे ।
प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य राम बहादुर कार्की र कांग्रेस पाल्पा क्षेत्र नं. २ प्रदेश ख का सचिव शंकर भण्डारीले पार्टीको वर्तमान अवस्था, केन्द्रले लिएको रणनीति, समसामयिक विषय संगै संगठन विस्तार र सुढृद कसरी बनाउने भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।
पार्टीका प्रशिक्षण विभाग प्रमुख अध्यक्षतामा भएको कार्यक्रममा
महाधिवेशन प्रतिनिधि पूर्ण कुमार सोती,अर्का महाधिवेशन प्रतिनिधि एवं प्रशिक्षण विभाग सदस्य शालिकराम पाण्डेले सहजिकरण गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य, जिल्ला, क्षेत्र, प्रदेश र पालिका तहका नेतृत्वको उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा निस्दी गाउँपालिकाको ७ वटै वडाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।








