बुटवल,२९ बैशाख ।
रुपन्देहीको देवदहमा सञ्चालित दुइ दिने क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला शनिबार सकिएको छ । कार्यशालाको एक समारोहका विच उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले समापन गरेका हुन् ।
समापन समारोहमा बोल्दै मन्त्री बस्नेतले कार्यशालाले पर्यटन प्रबर्द्धनमा ठूलो टेवा दिने बताए । उनले कलाकारहरुले निकै मेहनतका साथ बुद्ध र देवदहको इतिहास उतारेको बताउँदै यसका लागि प्रदेश सरकार सहकार्य गर्न इच्छुक रहेके बताए ।
२५६८ औं बुद्धजयन्तीको पूर्वसन्ध्यामा ड्रिम देवदह यूनिटि फर चेञ्जको आयोजनामा दुई दिने कार्यशाला गरिएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य जानकी न्यौपानेले देवदह बुद्धको मावली स्थल भएकाले यहाँको विकासका लागि कार्यशालाले ठूलो सहयोग गर्ने बताइन ।
यस्तै कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले खयरडाँडा जस्ता पुरातात्विक स्थलमा गरिएको कार्यशालाले देवदहको प्रवर्द्धनमा ठूलो टेवा दिने बताउँदै स्थानीय सरकारका तर्फबाट यसको संरक्षणमा ध्यान दिने बताइन । यस्तै लुम्बिनी विकास कोष कोषाध्यक्ष सिद्धिचरण भट्टराईले देवदहको इतिहासबलाई क्यानभासमा उतार्ने कार्यले देवदहको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने बताए ।
आयोजक ड्रिम देवदह यूनिटि फर चेञ्जका अध्यक्ष समेत रहेका भट्टराईले कलाकारहरुले उतारेका ऐतिहासिक चित्रहरुले देवदह र बुद्धको जीवनलाई उतारेको उनले बताए ।
यस्तै समापन कार्यक्रममा देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्री, वडाअध्यक्ष मोहन बहादुर जिसि, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्रज्ञा गोविन्दगोविन्द चौधरी, खयरडाँडा संरक्षण समिति देवदह ९ का सल्लाहकार पिताम्बर खराल, सचिव दिपेश बस्याल, पवन पौडेल लगायतले बोलेका थिए । २४ जना कलाकारले क्यानभासमा उतारेका चित्रहरुमा देवदहको इतिहास कोरिएको छ ।
२ दिने कार्यशालाबाट बनेका २४ वटा चित्रहरुलाई व्यवस्थित रुपमा राख्ने ड्रिम देवदह यूनिटि फर चेञ्जका सचिव दिपेश बस्यालले जानकारी दिए ।
ड्रिम देवदहको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको कार्यशालाको देवदह नगरपालिका संरक्षक, पर्यटन डिभिजन कार्यालय रूपन्देही सह–आयोजक र लुम्बिनी विकास कोष प्रर्वद्धक हुन ।
कार्यशालाकाे शुक्रबार लुम्बिनी प्रदेशका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले कार्याशालाको उद्घाटन गरेकी थिइन ।








