बुटवल,२९ बैशाख ।
बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवल उपमहानगरपालिकाले जितेको छ ।

आज भएको फाइनल खेलमा बुटवल उपमहानगरपालिकाले तिलाेत्तमा नगरपालिकालाई २५-९,२५-८ र २५-१४ काे साेझाे सेटमा हराउदै उपाधि हात पारेको हो ।

प्रतियोगितामा तिलाेत्तमा नगरपालिका उपविजेता बनेको छ भने गैडहवा गाउपालिका तेस्रो र सुद्वाेदन गाउपालिकाले सान्त्वना स्थान प्राप्त गरेको छ ।

उपाधिसँगै बुटवलले नगद ५० हजार,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता तिलाेत्तमाले नगद ३० हजार,तृतीय हुने गैडहवाले नगद २० हजार र सान्त्वना स्थान प्राप्त गरेको सुद्वाेदनले नगद १० हजार प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता उपविजेता,तृतीय,सान्त्वना स्थान प्राप्त गर्ने पालिकाहरूलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे,उपप्रमुख सावित्रा देवि अर्याल,नगर खेलकुद विकास समिति अध्यक्ष बाेनिन पिया लगायतले पुरस्कार,तथा सहभागीताकाे प्रमाणपत्र प्रदान गरेका थिए ।

विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने जिल्ला र प्रदेशको टिममा बुटवलका खेलाडीकाे बर्चस्व रहने गरि खेलाडी उत्पादन तथा क्षमता विकास गर्ने गरि अगाडि बढेको बताए ।

खेलकुदकाे माध्यमबाट पनि बुटवललाई चिनाउने योजना सहित उपमहानगरपालिकाले साेहि अनुसारको बजेट बिनियाेजन गरेको भन्दै उनलेे आगामी दिनमा त्यसलाई अझै बिस्तार गर्दै लैजाने उल्लेख गरे ।

तीन दिनसम्म चलेको प्रतियोगितामा बुटवल सहित रूपन्देहीका ६ पालिकाकाे सहभागीता रहेको कार्यक्रम संयोजक सेरजंग गुरूङले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका खेलकुद विकास समिति अध्यक्ष बाेनिन पियनकाे सभापतित्वमा सम्पन्न प्रतियोगिता समापन कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पाैडेल,बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल,खेलकुद पत्रकार मञ्च रूपन्देहीका अध्यक्ष सुमन अधिकारीलगायतले आ आफ्नो भनाइ राखेका थिए ।