बुटवल,२३ बैशाख ।
अनेरास्ववियु (क्रान्तिकारी) ले शैक्षिक संस्थाहरूले शिक्षा ऐन विपरीत विधार्थी र अभिभावकको ढाड सेक्ने गरि चर्को शुल्क असुल गरेको भन्दै तत्काल मूल्य बृद्वि फिर्ता लिन माग गरेको छ ।

माेहन वैद्य (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी काम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) रूपन्देहीका अध्यक्ष मनाेज थापाले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरि रूपन्देहीका शैक्षिक संस्थाहरूले शिक्षा ऐन विपरीत विधार्थी र अभिभावकको ढाड सेक्ने गरि चर्को शुल्क असुल गरेको प्रति संगठनको गभिर ध्यानाकर्षण भएको भन्दै तत्काल मुल्य घटाउन माग गरेको हो ।

रुपन्देहीका सामुदायिक तथा निजी शिक्षण संस्थाहरुले विधार्थीबाट विभिन्न शिर्षकमा चर्को शुल्क उठाउने, अभिभावकले तिर्न नसक्ने गरि सामुदायिक विद्यालयले अभिभावक सहयोगको रुपमा चर्को शुल्क असुली गरि पढ्न पाउने विद्यार्थीकाे अधिकारवाट बन्चित गर्ने, खेलकुद सामाग्री, किताब, कपि लगायत स्टेसनरी सामाग्रीको व्यापार विधालय हाता भित्रै गर्ने जस्ता अनैतिक र अवैधानिक गतिविधि गरिरहेको विद्यार्थी र अभिभावकको व्यापक गुनासो आइरहेको भन्दै विज्ञप्तिमा चर्को शुल्क लिने कार्य बन्द नगरिए संगठन आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

नेपालको सविधानको धारा ३१ को उपधारा २ मा व्यवस्था भए अनुरुप आधारभुत तहसम्मको शिक्षा निःशुल्क भनिएको भएता पनि कार्यान्वयन नभएको भन्दै विज्ञप्तिमा यसले सबै तहको सरकार निरीह र मुकर्दशक बन्न पुगेको आराेप लगाइएको छ ।

त्यस्तै विज्ञप्तिमा संविधानकाे कार्यान्वयन गर्नुको सट्टा तीनै तहका सरकार शुल्क वृद्धि गर्ने मतियार बनिरहेकाे अखिल क्रान्तिकारीकाे आराेप छ ।

विज्ञप्तिमा भनिएको छ- “चर्को शुल्क असुल गर्ने शैक्षिक संस्थाकाे कार्य निम्न आयस्तर भएका नागरिकका छोराछोरी विधालय शिक्षाबाट बन्चित हुनुपर्ने वाध्यता एकातिर छ भने अर्कोतिर राज्य आफैले संविधानमा व्यवस्था गरिएको निःशुल्क शिक्षाको प्रावधानका विरुद्धमा छ ।”