धनगढी,२१ बैशाख ।
मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विश्वासको मत लिने प्रयाेजनका लागि बाेलाइएकाे सुदूरपश्चिम प्रदेश सभाको ब‌ठक स्थगित भएको छ ।

प्रदेश सभाबाट मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने अवस्था नभएपछि बैठक स्थगित गरिएको बताइएको छ ।

प्राविधिक कारणले आजको प्रदेश सभाको बैठक स्थगित गरिएको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।

विश्वासको मत लिने हतारोमा प्रदेश सभाको बैठक बाेलाइएकाेले एमालेले तत्काल मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन नसक्ने जनाएको छ । एमालेले विश्वासको मत नदिएको अवस्थामा बहुमत नपुग्ने भएपछि विश्वासको मतको लागि शुक्रबार आह्वान गरिएको बैठक स्थगित गरिएको हो ।

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले पनि शुक्रबार विश्वासको मत नदिने स्पष्ट पारे ।

संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्री सोडारीले हतारमा सल्लाह नगरेर विश्वासको मत लिन खोजेको भन्दै विश्वासको मत नदिने बताएका हुन् ।

उनले भने, “गठबन्धनको सरकार बनाउने कुरा हो । यहाँ हतार गर्नु पर्ने बेला छैन ।”