अमेरिकाले संसदमा पार्टी खोलेकाे दाबी
बुटवल,१० बैशाख ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लेनिनवादी संगठन संरचना र कम्युनिस्ट आचरणलाई तिलाञ्जली दिएका कारण विश्व कम्युनिस्ट आन्दोलन धराशायी भएको बताएका छन् ।

नेकपाको ७६ औं स्थापना दिवसको अवसरका नेकपा मसाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै चित्रबहादुर केसीले साम्राज्यवादीहरूकाे चंगुलमा फसेर नेपालका कम्युनिस्ट पार्टीहरू सत्ता शक्तिका लागि जस्तोसुकै कदम चाल्दा कम्युनिस्टहरूकाे बदनाम भएको बताए ।

सरकारमा बस्नेहरुको गलत व्यवहारका कारण देश संकटको अवस्थामा पुगेको बताउदै उनलेे सहकारी ठग,ठूलाठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरबाट देश कंगाल भएको दाबी गरे । उनलेे भने – “सहकारी ठगी, भ्रष्टाचारीहरु र दोहोराे नागरिकता/ पासपोर्ट भएकाहरुको सहभागितामा बनेको सरकारले देशलाई निकास दिन सक्दैन ।”

सत्तामा गएकाहरु साम्राज्यवादीको एजेण्डा बोकेर देशलाई लुटेको अरोप लगाउंदै संसदमा साम्राज्यवादी पसेको बताए । भारतीय र अमेरिकन साम्राज्यवादले नेपालको भलो नचाहेको बताउंदै उनलेे अमेरिकाले संसदमा पार्टी खोलिसकेको दावी गरे । लेनिनवादी सिद्वान्त छोडेकाहरु कम्युनिष्ट हुन नसक्ने बताउंदै कम्युनिष्ट सिद्वान्त छोडेर कम्युनिष्टको नाममा भ्रम छर्नेहरुसंग सचेत हुनुपर्नेमा जाेड दिए ।

आधारभूत रुपमा कम्युनिष्टको सिद्वान्त र आचारणमा रहेकाहरुसंग एकताका लागि सधै एकताको ढोका खुल्ला रहेको बताउदै अध्यक्ष केसीले कम्युनिष्टको आधारभूत सिद्वान्त नै छोडेकाहरुसंग एकता हुन नसक्ने बताए ।

उनले कम्युनिष्ट आन्दोलन अवसरबादको दलदलमा पतन भएको उल्लेख गर्दै देशमा कम्युनिष्ट जनमत धेरै भएपनि क्रान्तिकारी धार नभएकाहरुको भीड मात्रै रहेको बताए ।

राष्ट्रिय जनमोर्चाका सल्लाहाकार बद्रे आलमले नेकपा स्थापनाको उद्वेश्य पुरा नभएको बताउंदै कम्युनिष्टको नाममा गैरकम्युनिष्ट गतिविधि गर्नेहरुबाट कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताए ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य प्रेम सुवेदीले विचार र कार्यदिशाको समस्याले कम्युनिष्टमा विभाजन आएको बताउंदै कम्युनिष्टहरुमा आएको विभाजन विडम्मनापुर्ण भएको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय सभा सांसद तुलप्रसाद विक, नेकपाका केन्द्रिय सदस्य शरद ओली, नेकपा माओवादी केन्द्र रुपन्देही अध्यक्ष निर्मल जीसी, वामपन्थी नेता दुर्गानाथ खरेल, तेजप्रसाद कडेल, लिलाबहादुर केसी, ऋषिराम भुसाल, माक्र्सवादी विचार मञ्चका सचिव विनबहादुर कुंवर, अन्टुकका अध्यक्ष लोकराज भुसाललगायतले देशमा कम्युनिष्टहरुको पसल धेरै खुलेको बताउदै बिचार मिल्ने कम्युनिस्ट पार्टीबीच एकता गर्नुपर्नेमा जाेड दिए । उनिहरूले नेपालमा कम्युनिस्टहरूकाे जनाधार बलियो भएपनि कम्युनिष्ट आन्दोलन कमजोर हुंदा साम्राज्यवादी शक्ति हावी भएको बताए ।

छरिएर रहेका कम्युनिष्टवीच एकता आवश्यक रहेको बताउंदै उनिहरूले आधारभूत रुपमा कम्युनिष्ट सिद्वान्त अगालेका पार्टीवीच एकता गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गनुपर्नेमा जाेड दिए ।

नेकपा मसाल रुपन्देही प्रवक्ता लालचन पन्थको अध्यक्षता र वामपन्थी नेता चेतनाथ आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।