काठमाण्डाै,१० बैशाख ।
कतारका राजा अमिर अर्थात् राजा शेख तमिम बिन हमाद अल थानीको भ्रमणका क्रममा सरकारले भाेली सार्वजनिक बिदा दिएकाे छ ।

कतारको राष्ट्र प्रमुखसमेत रहेका अमिर अर्थात् राजा शेख तमिम बिन हमाद अल थानीको भ्रमणका क्रममा सरकारले भोलि मङ्गलवार सार्वजनिक बिदा दिएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका कतारी राजाको सम्मानमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक बिदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा बिदा दिने निर्णय भएको मन्त्री शर्माले बताइन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजाको भ्रमण हुन लागेको हो । यो कतारी राजाको पहिलो नेपाल भ्रमण पनि हो । कतारी राजासँगै मन्त्रीहरू पनि नेपाल भ्रमणमा आउँदैछन् ।

कतारका राजाले भोलि नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले पर्सि बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । कतारका राज पर्सि बेलुका नै कतार फर्कने कार्यक्रम रहेको छ ।