बुटवल,९ बैशाख ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् । नवनियुक्त मन्त्री पुनले स्वास्थ्य मन्त्रीकाे जिम्मेवारी सम्हालेपछि आइतबार विहान पहिलोपटक लुम्बिनी प्रादेशिक अस्पतालकाे निरीक्षण गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाको रुपमा रहेको भवन निर्माणका लागि अहिले पुरानो संरचना हटाएर जग निर्माणको काम भैरहेको छ ।
अस्पतालको निर्माण स्थल तथा अस्पतालमा हाल सञ्चालनमा रहेका सेवाहरुको अवलोकन गर्दै मन्त्री पुनले प्रदेश गौरवको आयोजनाका रुपमा रहेको अस्पतालको नयाँ भवन निर्माणको कामलाई गुणस्तरीय र समयमै सक्नका आवश्यक निगरानी गर्ने उल्लेख गरे ।
बुटवललाई स्वास्थ्यको हबको रुपमा बिकास गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै पुनले सोही योजना अनुसार नै लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रुपमा स्तरोन्नतीका लागि संरचना निर्माणको काम सुरु भएको उल्लेख गरे ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबाट गुनासा तथा सुझाब माग गरेपछि सम्बोधन गर्दै मन्त्री पुनले सेवाग्राहीको चाप, जनशक्ति व्यवस्थापन र उपकरण लगायतमा तालमेल नभएको विषयमा मन्त्रालयले छलफल अघि बढाउने प्रतिवद्धता जनाए । अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन तथा उपकरण व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेको अस्पतालले जनाएको जनाएको छ ।
स्वास्थ्य मन्त्री पुनले चिकित्सा तथा स्वास्थ्य पेसा मर्यादित पेसा भएका कारण यसको साखलाई कायम राख्न मन्त्रालय तयार रहेको बताए । यसैगरी सेवा प्रदान गर्ने विषयमा चिकित्सक तथा कर्मचारीले राम्रो गरेमा सम्मान गर्ने र गलत गरेमा कारबाही गर्ने चेतावनी समेत दिए ।
अस्पतालमा निरीक्षणमा लुम्बिनी प्रदेश सामाजिक बिकास समितिका सभापति ओमबहादुर नेपालीको समेत सहभागिता रहेको थियो ।









