बुटवल,९ बैशाख ।
पश्चिम नेपाल बस ब्यबसायी प्रालिले सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन सम्बन्धि अभियानलाई तिब्रता दिएको छ ।

अभियानको क्रममा प्रा लि ले आइतबार सवारी चालक तथा सहचालकहरुलाई दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन सम्बन्धि प्रशिक्षण दिएको हो ।

प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा सवारी ब्यबस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक सोभा पाण्डेले सवारी चालकहरू माझी र सबैभन्दा ठूलो उद्वारकर्ता भएको भन्दै सवारी चालकहरु दुर्घटनाको कारक र निरोधक पनि भएको बताइन् ।

सूरक्षित रुपमा यात्रा गराउनु चालकको जिम्मेवारी भएको भन्दै उनले आफुले चलाएको गाडीमा आफ्नो परिवारका सदस्य पनि सवार छन भन्ने सोचेर होशियारीकासाथ सवारी चलाउदा दुर्घटना कम हुने दाबी गरिन् ।

उनलेे छिटो गन्तब्यमा पुग्ने र धेरै यात्रु चढाउने प्रतिस्पर्धा गर्ने भन्दा पनि गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकहरुलाई आग्रह गरिन् ।

सभ्य भाषा नम्र बोलिसहितको सेवानै अचुक औषधि भएको बताउदै उनले अपांग र आरक्षण सिट कार्यान्वयन गर्र्नुपर्नेमा जोड दिइन् ।

अधिकांस सवारी साधन फोहोर हुने गरेको भन्दै उनले आफुले दिनभर र रातभर चलाउने गाडी सफा छैन भने चालकको मनस्थिति कसरी सफा हुनसक्छ भनि प्रश्न गरिन् ।

कार्यक्रममा सुरक्षीत यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेलबासेले चालक तथा सहचालकहरुले यात्रुहरुसँग नम्र ब्यबहार गर्नुपर्ने जोड दिए ।

पश्चिम नेपाल बस ब्यबसायी प्रालिका संचालक तथा सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन समितिका संयोजक नारायण प्रसाद घिमिरेले सवारी चालक तथा सहचालकहरुले आफ्नो सीप कला र दक्षता बढाउनुका साथै यात्रुहरुसँगको ब्यबहारमा सुधार ल्याउनु पर्नेमा जाेड दिए ।

केही चालक र सहचालककाे खराब ब्यवहार र आचरणका कारण समग्र यातायात क्षेत्र बदनाम हुने भएकोले समय अनुसार आफुलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी प्रा लि का सञ्चालक तथा दुर्घटना न्युनिकरण समितिका सह संयोजक नारायण भण्डारी,सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन समितिका सचिव जितेन्द्र खत्री,नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका लुम्बिनी प्रदेश इन्चार्ज ठाकुर गैरे लगाएतले अधिकांश दुर्घटना चालककाे लापरबाहीले हुने गरेको भन्दै हाेसियारीपुर्वक सवारीसाधन चलाउनुपर्नेमा जाेड दिएका थिए ।

दुर्घटना न्युनिकरण गर्ने उदेश्यले प्रा लि ले साप्ताहिक रूपमा चालक तथा सहचालकहरुका लागि प्रशिक्षण दिदै आएको प्रा लि का अध्यक्ष दधिराम खरेलले जानकारी दिए ।