बुटवल ९ वैशाख ।
पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।

जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले शनिबार नै राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री जाेखबहादुर महराले दुई वटा मन्त्रालय दिने सात बुँदे लिखित सहमति गरेपनि पछिल्लाे समय उक्त सहमित उल्लंघन गरेकाे भन्दै सरकार बाट फिर्ता हुने निर्णय गरेको जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष असाेककुमार यादवले जानकारी दिए । सरकारवाट मन्त्री फिर्ता भए पनि समर्थन भने कायम रहने अध्यक्ष यादवले बताए । मन्त्री अहिरले पार्टीको निर्णय अनुसार आफूले राजीनामा दिएको बताए ।

माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए । ६ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाएका थिए ।

सरकार गठनका क्रममा मुख्यमन्त्री महराले सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने लिखित सहमति नै गरेकाे जसपाले जनाएको छ ।

३ जना प्रदेश सभा सदस्य भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । ८७ सदस्यीय प्रदेशसभा रहेको लुम्बिनीमा मुख्यमन्त्री महरासँग ४८ जना प्रदेश सभा सदस्यहरूले समर्थन गरेका थिए ।