काठमाण्डौ,९ बैशाख ।
आज पनि लुम्बिनी, मधेश र कोशी प्रदेशका तराई क्षेत्रका एक/दुई ठाउँमा हुरीबतासको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी, मधेश र कोशी प्रदेशका तराई क्षेत्रका एक/दुई ठाउँमा हुरीबतासको सम्भावना रहेकोले ती क्षेत्रका बासिन्दालाई सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा बदली भएको मौसम पूर्वानुमान महाशाखाकाे भनाइ छ ।
महाशाखाकाअनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको छ ।
त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा पानी र हिउँ पर्ने सम्भावना छ ।









