बुटवल,८ बैशाख ।
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने केपी ओली सच्चिन खाेजेकाे संकेत देखिएपछि पार्टी अहिलेको समीकरणमा सामेल भएको बताएका छन् ।
शनिबार रूपन्देहीको ड्राइभर टोलमा आयाेजित एक अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनलेे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्ती कमजोरीहरु स्वीकार गरेकाले अहिलेको गठबन्धन बनेको बताएका हुन् ।
‘आफूबाहेक अरुलाई कम्युनिष्ट र वामपन्थी नदेख्ने केपी ओली त्यसै अहिलेको समीकरण बनाउन नतयार नभएको भुसालले भने । पार्टीभित्र र बाहिर सबै तिरबाट अब एक्लै अघि बढ्न सकिन्न भन्ने सुझाव आएपछि विगतका कमी कमजोरी गल्ती रियलाइजेसन गरेर नै यो समीकरणमा आएको भुसालले बताए । अब २०८४ को चुनाव अघिसम्म एमाले, माओवादी, एकीकृत समाजवादी, विप्लव सहितका वामपन्थी दलहरुबीच एकता हुनसक्ने उनले औंल्याए ।
एमालेको राष्ट्रिय प्रतिनिधि परिषद वैठकमा पेश गरिएको राजनीतिक दस्तावेजमा ओलीले आफ्नो पार्टीले उठाउंदै आएका एक दर्जन एजेण्डालाई नक्कल गरेको भुसालले बताए ।
ओली र प्रचण्ड दुबैलाई अहिलेको सत्ता गठबन्धन यताउता गरेर अन्त जाने ठाउं नभएको तर्क गर्दै भुसालले एमाले र माओवादी दुबै पार्टीभित्रका जडता र कमजोरीहरु सच्याउन आवश्यक रहेको औंल्याए ।
कार्यक्रममा पुर्व मन्त्री सोमप्रसाद पाण्डेले मुलुकमा अब केही हुदैन सबै खत्तम भयो भन्ने भाष्य निर्माण गरिएको भन्दै राजनीतिक दल र संचार माध्यमले चिर्न सक्नुपर्नेमा जाेड दिए ।









