बुटवल,८बैशाख ।
रुपन्देहीको मणिग्राममा सञ्चालित एनजी मार्केट डिपार्टमेन्ट स्टोर ले बम्पर उपहार विजेतालाई डेढ करोड मूल्य बराबरको घर जितेको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
तिलोत्तमा १ ड्राइभरटोलका योगेन्द्र बस्नेतले तिलोत्तमा ७ भलबारीमा रहेको आवास कलोनीमा १० धुर जग्गामा निर्माण हुने १ हजार ६ सय स्क्वायर फुटमा बन्ने साढे २ तले घर जितेका हुन् ।
शनिबार एक समारोहबीच मार्केटका अध्यक्ष नारायण बन्जाडे र सिईओ आभास बन्जाडेले बस्नेतलाई घर जितेको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
मार्केटले एक हजार जना ग्राहकलाई दश प्रकारका उपहार दिने गरी गत वर्ष अफर ल्याएको थियो । एनजी मार्केटमा एकपटकमा ५ हजार वा पटक पटक गरेर १० हजार रुपैयांको सामान खरिद गर्दा प्राप्त कुपनबाट लक्की ड्र मार्फत बस्नेतले पुरस्कार पाएका हुन् ।
बस्नेतले एनजी मार्केटमा चारपटकमा करिब ४० हजारको सामान खरिद गरेर ४ वटा लक्की ड्र कुपन पाएका थिए । चैत ३० गते लक्की ड्र खोलिएको थियो । त्यतिबेला पुरस्कार विजेता बस्नेत नयां वर्षमा पोखरा घुम्न गएकाले एक हप्तापछि उनलाई घर जितेको प्रमाणपत्र तथा घर बनाइदिने सम्झौतापत्र हस्तान्तरण गरिएको मार्केटले जनाएको छ ।
डेढ करोडको घर पाउने भएपछि योगन्द्रले आफू भाग्यमानी भएको प्रतिक्रिया दिए ।
‘मैले चार पटकमा करिब ४० हजारको सामान किन्दा ४ वटा कुपन पाएको थिएं,त्यसमध्ये २०८० साउन ९ गते सामान किन्दा पाएको कुपनले मलाई डेढ करोडको घर दिलायो’–उनले भने–‘आफ्नै नगरमा २ अर्ब लागतमा युवाको नेतृत्वमा सञ्चालनमा आएको मार्केटलाई प्रोमोट गर्नुपर्छ भनेर नियमितरुपमा सपिङ गर्दै आएको थिएं ।’ सबै सामान एउटै छानामुनि पाइने एनजी मार्केट सञ्चालनमा आएपछि उपभोक्ताहरु सुनौली वा अन्यत्र धाउनुपर्ने वाध्यता नभएको उनले बताए ।
तपाई मार्केट सञ्चालककाे नाता सम्बन्ध पर्ने ब्यक्ति त पर्नुहुन्न भन्ने जिज्ञासामा उनलेे नाता सम्बन्ध त परेको कुरा सामान्य चिनजान समेत नभएको दाबी गरे ।
कार्यक्रममा बोल्दै मार्केटका अध्यक्ष नारायण बन्जाडेले ग्राहकको सन्तुष्टीलाई पहिलो प्राथमिकतामा राखेर ब्राण्डिङ पनि गर्ने उद्देश्यले एक हजार वटा पुरस्कार वितरण गर्ने योजना रहेको बताए ।
मार्केटका सिईओ आभास बन्जाडेले बांकी ९९९ वटा पुरस्कार आगामी वर्ष २०८२ साल प्रारम्भका अवसरमा वितरण गर्ने बताए । ९९९ वटा पुरस्कारमा एक जनालाई किया ब्राण्डको कार, एक जनालाई रोयल इनफिल्ड ३५० सीसीको बुलेट मोटरसाइकल, एक जनालाई भेस्पा स्कुटरसमेत प्रदान गरिनेछ ।
यस्तै १५ जनालाई एक टन क्षमताको एयर कन्डिसनर, १५ जनालाई सिंगल डोर फ्रिज, १५ जनालाई टप लोड वासिङ मेसिन, २५ जनालाई ५५ इन्चको टेलिभिजन, १२५ जनालाई राइस कुकर र ८०१ जनालाई क्लोथ आइरन गरी १ हजार जना ग्राहकलाई उपहार प्रदान गरिने बन्जाडेले बताए ।
दुई अर्ब लागतको मार्केटमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएकाे व्यवस्थापक दीपक भट्टराईले जानकारी दिए ।









