काठमाण्डाै,७ बैशाख ।
नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख र प्रदेश सरकारले गैरसंवैधानिक काम गरेको आरोप लगाएको छ ।

गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख र प्रदेश सरकारले गरेको कदम प्रति कांग्रेसले आपत्ति समेत जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लो पटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएको निर्णय र क्रियाकलाप आपत्तिजनक र गैरसंवैधानिक भएको पार्टीले ठहर गरेको बताए ।

प्रवक्ता महतले प्रदेश प्रमुखहरूबाट आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संधिवानको मर्म र भावनाको उल्लङ्घन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने रबैया देखिएको बताए । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारले सर्वोच्च अदालतको आदेशको थप उल्लङ्घन गरेको उनलाई भनाइ थियो ।

यस्तै सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्ने क्रममा संविधानको धारा १६८ (२) बमोजिम संविधानसम्मत गरिएको दाबीलाई खारेज गरी प्रदेश प्रमुखबाट बदनियतपूर्ण ढङ्गमा फेरि सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक कदम भएको कांग्रेसको दाबी छ ।