बुटवल,७ वैशाख
सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । शुक्रबार भएको थुनछेक बहसपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउँदै अन्य ६ जनालाई धरौटीमा छोड्ने आदेश गरेको हो ।
रूपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाइ ४ लाख धरौटीमा छाड्ने आदेश दिएको छ भने सहकारीको भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई १८ लाख, नवीन अछामीलाई १० लाख, नीता थापालाई २ लाख, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार र रोशनी गुरुङसँग २ लाख रुपैंयाँ धरौटी माग गरेको छ । अध्यक्ष गुरुङलाई थुनामै राखेर थप अनुसन्धान गर्न अदालतले भनेको छ ।
थुनामा रहेका अधिकांशले शुक्रबार नै धरौटी बुझाउने तयारी गरेका छन् । जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले ६ जनालाई धरौटीमा छोड्ने र एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको बताए । अदालतले प्रहरीले अनुसन्धानको क्रममा पोखरा कारागारबाट ल्याएका कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश गरेको छ ।
त्यस्तै प्रहरीले पेस गरेका सहकारीका पूर्वअध्यक्ष एवं अहिलेका संरक्षक गितेन्द्रबाबु (जिबी) राईसहितका अन्य प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
झन्डै २ महिना लामो अनुसन्धानपछि प्रहरीले वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सहकारीमा नियमित बचत गरेको सर्वसाधरणको रकम ठगी गरेको भन्दै १ हजार ८ सय ३१ जनालाई प्रहरीमा उजुरी गरेका थिए । सहकारीमा जीबी राईसहितको समुहले सर्वसाधरणबाट बचत भएको १ अर्ब ३१ करोड रकममध्ये सहकारीका राई, पुन, गुरुङसहितका पदाधिकारी र कर्मचारीले ८६ करोड १८ लाख, २३ हजार अपचलन गरेको प्रतिवेदन प्रहरीले बुझाएको थियो । सहकारीमा १९ हजार ३ सय ९१ सदस्य थिए ।









