काठमाण्डौ,७ बैशाख ।
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने बेहुलासहित ५२ जना घाइते भएका छन् ।

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको जन्ती बस बिहान साढे ७ बजे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–५ धारावतीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये दुई जनाको मात्रै परिचय खुलेको छ । मृत्यु हुनेमा दोलखाको भिमेश्वर–१ का १७ वर्षका शिव श्रेष्ठ र ७० वर्षका मानबहादुर थामी रहेका छन् ।

अर्का एक जना मृतकको परिचय नखुलेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए ।

बेहुलासहित घाइते भएका धेरैको घटनास्थलमै प्राथमिक उपचार भैरहेको छ । केहीलाई सिन्धु सदावहार अस्पताल पठाएको प्रहरीले जनाएको छ ।