बुटवल,७ बैशाख ।
नेपाली सेनाले अंग्रेज फौजलाई हराएको दिनको स्मरणमा आज रुपन्देहीको बुटवलस्थित जितगढीमा बिजय उत्सव मनाइँदैछ ।
१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले जितगढीमा विजय उत्सव मनाउँदै आएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १ स्थित जितगढीमा हुने उत्सवलाई लक्षित गरी नेपाली सेनाले गोरखादेखि शुरु गरेको पैदलयात्रा पनि आज बुटवल आइपुग्दैछ । साे टोलीलाई बुटवल गणेश मन्दिरमा स्वागत गर्ने कार्यक्रम रहेकाे छ ।
जितगढी किल्ला गत बर्ष नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । आज हुने विजय उत्सवमा प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री, पालिका प्रमुख, बाहिनीपति, गणपती लगायतको सहभागितामा रहने जनाइएको छ ।
नेपाली सेनाले अंग्रेजलाई हराएको जितगढी किल्लामा कार्यक्रम गरेर खुशीको सन्देश दिने प्रयास गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । विजय उत्सवका रुपमा बुटवलमा कार्यक्रम गरि विर योद्धाहरुलाई सम्झिन पाउनु गौरवको कुरा भएको भन्दै उनलेे यसको गरिमालाई नगरपालिकाले सधैव बचाई राख्ने बताए ।
विजयोत्सव कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिकाबाट झाँकी सहितको र्यालीले बुटवलको परिक्रमा गर्दै किल्लामा पुगेर सभामा परिणत हुने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
बिहान ११ बजे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल, वडाध्यक्षहरु, पूर्वजनप्रतिनिधि, संघसंस्था तथा स्थानीयले पैदलयात्रामा सहभागी टोली र नेपाली सेनाका मध्यपश्चिम पृतनापतिसहितको टोलीलाई बुटजल १ स्थित सिद्धिबिनायक गणेश मन्दिरमा स्वागत गर्ने कार्यक्रम रहेको उपमहानगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । बुटवल–१ गणेशमन्दिर नजिकैबाट बाजागाजा सहित शुरु हुने पैदलयात्री सहितको विजय¥याली जितगढी किल्लामा पुगेर समापन हुने उनलेे बताए ।
यस्तो छ जीतगढी युद्धको इतिहास
वि.सं. १८७१ पुस २१ देखि १८७२ वैशाख ७ सम्म नेपाल–अंग्रेज बीच विभिन्न स्थानमा युद्ध भएको थियो । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले कुमाउ–गढवाल (नाहान), मकवानपुरगढी, कोशी–टिस्टामा अंग्रेज फौजसँग लडाइँ हारेको थियो । तर बुटवलको जीतगढीमा कर्णेल उजिरसिंह थापाको नेतृत्वको फौजले अंग्रेज फौजलाई हराएको थियो । जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना परिचालन गरेको थियो । पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो । युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो ।जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरेका थिए । आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे । यो लडाईंमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे । अंग्रेजतर्फ ठूलो क्षति भयो । पाल्पा–बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि ७ वैशाख १८७२ मा विजय हासिल गर्यो । युद्ध जितेपछि उजिर सिंहले पाल्पामा विजयोत्सव मनाएका थिए । दुई सय वर्षअघिदेखि पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाइन्छ । पाँच सय वर्गफिट इलाकामा फैलिएको जितगढी पूर्वपश्चिम लम्बाइ २०५ फिट छ र चौडाइ करिब ५५ फिट छ । गढीको जग निकै फराकिलो छ । गढीको गाह्रो क्रमशः माथितिर साँगुरो हुँदै गएको छ । गढीको भित्री भागबाट पर्खालको उचाइ ४ फुट ३ इन्च छ ।
१० इन्च चौडा रहेको भित्ताको मोटाइ ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुल्ला रहेको छ । त्यहाँ करिब बाह्र लाखदेखि पन्ध्र लाख ईंटा प्रयोग भएको अनुमान छ । ईंटाहरुका कोही १० इन्च वर्गाकारका तथा केही ईंटाहरुको लम्बाइ चौडाइ क्रमशः ८.६ इन्च, ६ इन्च बाई २ इन्च रहेको छ । गढीको निर्माण शैली भने अन्य प्राचीन गढीहरु जस्तै छ । गढीको वरिपरि युद्धको सुविधाको लागि विभिन्न किसिमका प्वालहरु निर्माण गरिएको छ । पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । यो गढी तिनाउ नदीको किनारमा अवस्थित छ ।
वि.सं. २०५२ सालमा पुरातत्व विभागले देशभरका गढीहरु संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिंदा पुरिएको पर्खालको पेटी भेटिएको थियो । उजिरसिंहको समयभन्दा अघिदेखि नै गढीको अस्तित्व रहेको बताइएपनि यसको पुष्टि भने हुन सकेको छैन । आर्थिक वर्ष २०६९÷७० र २०७०÷७१ मा पुरातत्व विभागले दुईपटक उत्खनन गरेको थियो । उत्खननका क्रममा जितगढी परिसरभित्र प्राचीनता झल्किने वस्तु भेटिएका थिए ।
यसअघि २०५८ सालमा पनि बुटवल उपमहानगरपालिकाले पुरातत्व विभागबाट उत्खनन गराएको थियो ।









