बुटवल, ६ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जाेखबहादुर महराले मन्त्रीपरिषद बिस्तार गरेका छन् ।

नवनियुक्त मन्त्रीहरूकाे सपथ ग्रहण आजै अपरान्ह ५ बजे गर्ने तयारी रहेकाे मुख्यमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

लुम्बिनी प्रदेश सरकारमा एमालेले दलका उपनेता चेतनारायण आचार्यकाे नेतृत्वमा सरकारमा पठाउने गरी मन्त्रीहरूकाे नाम सिफारिस गरेकाे छ । आचार्य यसअघि नै मन्त्री नियुक्त भए पनि मन्त्रालयकाे जिम्मेवारी पाएका छैनन् ।

मुख्यमन्त्री सचिवालयका अनुसार आचार्यले अर्थमन्त्रालयकाे जिम्मेवारी पाउने जनाइएको छ । एमालेबाट अब सरकारमा भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुनकुमार केसी र रत्नबहादुर खत्रीलाई मन्त्रीकाे रूपमा पठाउनेगरी नाम सिफारिस गरेकाे एमाले संसदीय दलकाे कार्यालयले जनाएको छ । ढकाललाई सहरी विकास, पन्थीले गृह, केसीले वन तथा वातावरण र खत्रीले सामाजिक विकास मन्त्रीकाे जिम्मेवारी पाउने सहमति भएको बताइएको छ ।

यस्तै माओवादी केन्द्रबाट दिपेन्द्रकुमार पुन मन्त्री नियुक्त भइसकेका छन् । माओवादीबाट थप एक जना कृष्णा केसी मन्त्री बन्ने बताइएकाे छ । पुनले स्वास्थ्य र केसीले सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्रालयकाे जिम्मेवारी पाउने माओवादी केन्द्र संसदीय दलकाे कार्यालयले जनाएकाे छ।

यस्तै जसपाबाट सरकारमा सहभागी भण्डारीलाल अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालयकाे जिम्मेवारी पाउने भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले भाैतिक पूर्वाधार विकास मन्त्रालय पाउने सहमति भएको छ । साे दलभित्र कसलाई मन्त्रीकाे रूपमा पठाउने भन्ने बारेमा छलफल चलिरहेकाे छ । स्वतन्त्र सांसद खड्ग बस्नेत पनि मन्त्री बन्ने भएका छन । उनले पर्यटन उद्योग र सहकारी मन्त्रालयकाे जिम्मेवारी पाउने जनाइएको छ ।

मुख्यमन्त्रीमा नियुक्त हुनुअघि दलहरूकाे बीचमा जसपालाई दुई, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि सरकारमा सहभागी गराउने लिखित सहमति भएको थियाे।

यसरी मन्त्रालयकाे भागबन्डा गर्दा दुई वटा मन्त्रालय थप्नुपर्ने देखिन्छ ।

लुम्बिनीमा मुख्यमन्त्री सहित दश मन्त्रालय रहेका छन् ।

यता नेकपा एकिकृत समाजवादी तत्काल सरकारमा सहभागी नहुने भएकाे छ । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने बिषयमा मुख्यमन्त्री संग अहिले सम्म कुनै छलफल नभएकाे समाजबादीका एक नेताले बताए ।

मन्त्री नपाए सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने बिषयमा समाजबादीले केही बताएकाे छैन ।