बुटवल,११ चैत ।
क्षयरोग नियन्त्रणका लागि सबै ले आ आफ्नो जिम्मेवारी र दायित्व पुरा गर्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।


विश्व क्षयरोग दिवसकाे अवसरमा आइतबार बुटवल उपमहानगरपालिकाद्वारा आयाेजित कार्यक्रममा सहभागीहरूले उक्त कुरामा जाेड दिएका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले सराेकारवाला सबैले आ आफ्नो जिम्मेवारी र दायित्व बहन गरे सन् २०५० सम्म नेपालबाट क्षयरोग अन्त्य गर्ने लक्ष पूरा हुने बताए ।

क्षयरोग नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाले समाजमा लुकेर रहेका क्षयरोगीहरू खाेजेर उपचार गर्ने कार्यलाई प्राथमिकता दिएको भन्दै साे कार्यमा सबैकाे सहयोग आवश्यक रहेको उल्लेख गरे ।

साे अवसरमा बुटवल उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षकद्वय कल्पना भुसाल र मिनप्रसाद खनालले बुटवलमा क्षयरोगकाे अवस्था र नियन्त्रणका लागि भइरहेका प्रयास बारे प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका क्षयरोग फाेकल पर्सन बिराेध पाण्डे,सेभ द चिल्ड्रेन किड्स परियोजनाकि बिवेचना पाण्डे लगायतले आ आफ्नो भनाइ राखेकाे उपमहानगरपालिका जनस्वास्थ्य शाखाका अधिकृत यमलाल भुसालले जानकारी दिए ।

यश बर्ष “हो ! हामी क्षयरोग अन्त्य गर्छौ ” भन्ने नाराका साथ क्षयरोग दिवस मनाइएको हो ।