बुटवल,२३ साउन ।
पाल्पाको दोभानबाट प्रहरीले साढे ७ लाख मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान पैठेडाँडा चेकपोस्टबाट अवैध मदिरा, एउटा कार र दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षक खिलबहादुर रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारीसाधन तथा पैदलयात्रीको जाँच गर्ने क्रममा अवैध मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

सिद्धार्थ राजमार्ग भएर पर्यटकीय सहर पोखरा लैजाने क्रममा ६ सय २३ बोतल भारतीय अवैध मदिरा प्रहरीले बरामद गरेको हो ।

भारतको गोरखपुरबाट पोखरातर्फ जाँदै गरेको युपी ३२ एसटी ४२८६ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा भन्सार छलेर ल्याइएका मदिरा बरमद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ओल्ड मंक ब्रान्डका ७५० एमएलका ६ सय ११ बोतल र सिग्नेचर ब्रान्डका ७५० एमएलका १२ बोतल गरी कुल ६ सय २३ बोतल मदिरा बरामद भएको हो । बरामद गरिएको मदिराको अनुमानित बजार मूल्य ७ लाख ५१ हजार दुई सय रहेको छ ।