नवलपरासी,७ चैत ।
पूर्वी नवलपरासीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मध्यविन्दु नगरपालिका ११ कोटथर गरगरेस्थित भित्रि सडक खण्ड दमाबाट अरुणखोला आउँदै गरेको ग। प्र। ०४–००१ ह ००४ नम्बरको अटो रिक्सा नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मध्यविन्दु १२ निवासी ७० वर्षीय भुपलाल अर्याल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते अर्यालको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।

त्यसैगरी दुर्घटनामा परी मध्यविन्दु १० निवासी ७६ वर्षीय टिकादेवी काफ्ले, मध्यविन्दु १२ निवासी ७० वर्षीय तोयनाथ पोख्रेल घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । अटो चालकलाई निणन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक अर्याल एमाले नवलपुरका जिल्ला कमिटी सदस्य हुन् ।