दाङ,३० फागुन ।
उपचारका क्रममा एक बालकको मृत्यु भएपछि घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा तनाव सिर्जना भएको छ ।
घाँटीमा समस्या भएपछि बुधबार बिहान अस्पताल ल्याइएका राजपुर गाउँपालिका–१, पटौली नाकाका नौ वर्षीय सुरेश कुँवरको मृत्यु भएपछि आफन्तहरुले अस्पताल घेराउ गरेका छन् ।
मृतकका परिवारले डाक्टरको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका हुन् । घाँटीमा पिप जमेको भन्दै सुई लगाएर निकाल्न खोजेको र त्यही क्रममा बढी रक्तश्राब भएर मृत्यु भएको मृतकका परिवारले जानकारी दिएका छन् ।
बिहान अस्पतालमा हिड्दै आएका बालक डाक्टरकाे लापरवाहीकै कारण मृत्यु भएको उनीहरुको दावी छ । मृतकका आफन्तहरुले अस्पताल घेराउ गर्नुकासाथै तडफोड समेत गरेका छन् । अस्पताल तनावग्रस्त भएपछि प्रहरीले अस्पतालमा पहरा दिएको छ ।
बालकको मृत्युछि आफन्तहरुले अस्पताल घेराउ गरिरहेको र अहिले घटनाबारे छलफल तथा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी जनकबहादुर मल्लले बताए ।








