काठमाडौँ,२९ फागुन ।
हङकङमा जारी त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध सानदार जित हात पारेको छ । वर्षाका कारण पहिलो खेल रद्द भएपछि हङकङसँग १/१ अंक बाँडेको नेपालले दोस्रो खेलमा मंगलबार पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटिएको हो । पीएनजीका लागि हिरी हिरीले सर्वाधिक २८ रन बनाए । त्यस्तै सेसे बाउले २१ रन बनाए भने अन्य ब्याटरको प्रदर्शन फितलो रह्यो ।

पीएनजीको इनिङ्सलाई कुशल भुर्तेलले धराशायी बनाएका थिए । कुशलले ४ ओभरमा १२ रन मात्र खर्चिंदै ४ विकेट लिए । नेपालका लागि प्रतिश जिसीले २ तथा आकाश चन्द र गुलशन झाले १/१ विकेट लिए ।

यसअघि हङकङको मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक बनाए । सन्दीपले २६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाए । कुशलले ३९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५९ रन बनाए ।

त्यस्तै विनोद भण्डारीले २७ र लोकेश बमले १४ रन बनाए । नेपालका लागि विवेक यादवले ४ बलमा १९ रन बनाए । नटआउट रहेका उनले ३ छक्का प्रहार गरेका थिए । त्यस्तै गुलशन झा पनि नटआउट रहँदै १५ रन बनाए ।

पीएनजीका लागि असद भालाले २ विकेट लिए । त्यस्तै नोसैना पोकाना, जोन कारिको र नोर्मान भानुवाले १/१ विकेट लिए ।