बुटवल,१६ फागुन ।
प्रदर्शन तयारीमा रहेको एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को प्रमाेशन टोली यतिबेला देश दाैडाहमा छ ।

सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएसंगै यो फिल्मको देशभर चर्चा भैरहेको छ ।

मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता सौगात मल्ल अगत्स्य एउटा सामाजिक कथा भित्रको एक्सन सस्पेन्स र थ्रिलर फिल्म भएको बताए ।

बदलाको कथामा आधारित फिल्म अगत्स्यका लागि रिलिज डेट नजिकिदै जाँदा सौगात दर्शक भेट्न तराई मधेशमा केन्द्रित छन् ।

तराईको भूभागसंगै हरेक नेपालीले हेर्ने पर्ने कथा बनेको बताउदै सौगातले अगत्स्य ले नेपालीको सामाजिक र मानसिक तवरबाट समग्र कथा बोलेको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सौगात मल्लले सो कुरा बताएका हुन् । सो अवसरमा बोल्दै खलनायकका रुपमा ट्रेलरमा देखिएका बिश्वास बस्नेतले फिल्म हेर्दा आनन्द लाग्ने र पुर्ण कमर्शियल बनेकोले दर्शकले सौगात मल्लको पुन: नयाँपन देख्ने बताए ।

फिल्मका कलाकारहरु सौगात मल्ल, नाजिर हुुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायत फिचर्ड छन् । फागुन १८ गते प्रदर्शन तयारीमा रहेको यो फिल्म एक्सन जनरा रुचाउने दर्शकका लागि पर्खाइको सूचीमा रहेको सौगात मल्लको भनाई छ। भारत र नेपालका विभिन्न थलोमा छायांकन गरिएको यो फिल्ममा सौगातको बहुचरित्रकरण देख्न सकिन्छ । उनले प्रेमी र बदला लिने एक्सन चरित्रमा सशक्त अभिनय गरेका छन् । फिल्ममा एन्टीहिरोको भूमिकामा प्रमोद दमदार देखिन्छन् । नाजिर हुसेनको ‘ग्रे’ चरित्र दर्शकका लागि अर्को दर्शनीय पात्र बन्न सक्छ ।

निश्चल क्यामियो रोलमा प्रस्तुत छन् । तर, उनको चरित्र चित्रणबारे विस्तृत खुलाइएको छैन । कूल मिलाएर यो फिल्म प्रेममा हुने बदलाको कथामा आधारितजस्तो देखिन्छ । ‘लभ डायरिज’ डेब्यु निर्देशक चौधरीले यो फिल्मबाट आफूलाई स्थापित गर्न खोजिरहेजस्तो देखिन्छ ।

ट्रेलर हेर्दा उनको निर्देशकीय पक्षमा विकास भएको अनुमान गर्न सकिन्छ । प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेको फिल्मको लेखन पनि सौरभकै छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता हुन् । सेभेन सिजले यसलाई अन्तर्राष्ट्रिय वितरण गर्दैछ ।

चलचित्र पत्रकार संघ रूपन्देहीका अध्यक्ष माेहन न्याैपानेकाे सभापतित्वमा सम्पन्न कार्यक्रम संघका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठको सहजिकरणमा भएको थियो ।