सुनसरी,११ साउन ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा कर्फ्युका बाबजुद स्थानीयले प्रदर्शन गरेका छन् । त्यो ठाउँमा स्थिति नियन्त्रणमा लिन नेपाली सेनाले गस्ती सुरु गरेको छ ।
नेपाली सेनाको टोलीले बख्तरबन्द गाडी लिएर कप्तानगञ्जका सडकमा गस्ती सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले देवागञ्जसहित पाँचवटा क्षेत्रमा बेलुका ७ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । तर, घटनाको विरोधमा स्थानीयले कर्फ्युको उल्लंघन गर्दै कप्तानगञ्जमा प्रदर्शन गरिरहेका छन् ।
ठूलो संख्यामा सुरक्षाकर्मीको उपस्थिति भए पनि स्थानीयले बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
प्रहरीका अनुसार टायर बालेर प्रदर्शन गरिरहेका स्थानीयले एउटा फार्मेसी, तीनवटा किराना पसल र एउटा मोटरसाइकल ग्यारेजमा तोडफोड गरेका छन् ।
आइतबार बेलुका दुई पक्षबीच झडप सुरु भएपछि सुरक्षाकर्मीले गरेको कारबाही र फायरिङका क्रममा एकजनाको मृत्यु हुनुका साथै आठजना स्थानीय घाइते भएका थिए ।






