काठमाडौँ,३१ भदौ ।
आज (बुधबार) राति केही प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति कोसी प्रदेशका पहाडी र तराई भूभाग तथा बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

समग्रमा आज राति देशभर साधारणतया बादल लाग्नेछ । अनि कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेस प्रदेश तथा कोसी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।