बुटवल,१० फागुन ।
बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखको कुर्सी विद्यार्थीहरूले रुखमा राखिदिएका छन् ।

क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलोमतोमा गयराति क्याम्पसको मुल गेटमा अनेरास्ववियूको स्वागत बोर्ड राखिएकाे भन्दै नेपाल विद्यार्थी संघ र अखिल छैठौँले क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएका हुन् ।

फागुन ६ गते क्याम्पस प्रशासन, प्रध्यापक संगठनहरु, स्ववियू,विद्यार्थी संगठनहरुको सर्वदलीय बैठकले गरेका निर्णय कार्यान्वयन गर्नुको साटो क्याम्पस प्रमखले अनेरास्ववियुकाे वोर्ड राख्न दिएकाले आफूहरु बाध्य भएर क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका उपसभापति नारायण घिमिरेले बताए ।

‘फागुन ६ गते क्याम्पस प्रशासन, प्रध्यापक संङगठनहरु, स्ववियू, विद्यार्थी संङगठनहरुको बैठकले क्याम्पसको मूल गेटको नजिक रहेको स्ववियू बोर्डमा लेखिएको अभिभावदन शब्द परिमार्जन गरी नमस्कार लेख्ने सहमति भएको थियो ।’–उपसभापति घिमिरेले भने ‘क्याम्पसको भित्र रहेका तीन वटा चौपारीमा लेखिएको जयनेपाल हटाउने र मन्दिरमा राखिएको राष्ट्रिय झण्डाको नजिकै राखिएको अनेरास्ववियू झण्डा हटाउने सहमति भएको थियो । यी सहमति पालना गर्नु पर्नेमा झन रातारात वोर्ड राख्ने सहमति दिए पछि बाध्य भएर यो कदम चालेका हौँ ।’

साथै क्याम्पस प्रमुखले ७ दिन भित्रमा राजिनामा नदिए थप कडा कदम चाल्ने उनीहरुको चेतावनी दिएका छन् । तर, नेपाल विद्यार्थी संघ र अखिल छैठौँले अनेरास्ववियूले स्वागत वोर्ड राखेको बताए पनि अनेरास्ववियूले भने आफुहरुले नराखेको दाबी गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनका सभापति दुर्गाबहादुर एमसीले बैठक बसेर मिलाउन सकिने विषय भएता पनि नेविसंघ र अखिल छैँठोले गैरजिम्मेवारी देखाएको प्रतिक्रिया दिए ।

यस विषयमा क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेलाई सम्पर्क गर्दा फोन उठेन ।