बुटवल,४ फागुन ।
एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज घरेलु टोली मलेसियासँग खेल्दैछ । नेपाली समय अनुसार आज बिहान सवा ११ बजे बायोमास ओभलमा खेल सुरु हुनेछ ।

उक्त खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ। एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन्। सीता रानामगरले कुवेतविरुद्ध ह्याट्रिक गरेकी थिइन् । नेपालको चारमध्ये तीन जितमा सीता प्लेयर अफ द म्याच चुनिएकी थिइन् ।

उता माल्दिभ्सविरुद्ध रुविना क्षेत्रीले ११८ रनको ऐतिहासिक शतकको मद्दतले २१३ रनको फराकिलो अन्तरले हराएको थियो। मलेसिया घरेलु मैदानको फाइदा उठाउन चाहन्छ ।

यस प्रतियोगितामा नेपाल अपराजित छ । नेपालले समूह डी मा हङकङ र भुटानलाई समान ८ विकेत तथा माल्दिभ्सलाई २१४ रनले हराएको थियो । मलेसियाले समूह सीबाट इन्डोनएसियालाई ६ विकेट, कतारलाई ३९ रन र बहराइनलाई १२६ रनले हराएको थियो। मलेसिया पनि अपराजित यात्राका साथ सेमिफाइनलमा आइपुगेको छ ।

नेपाल र मलेसियाबीच महिला टी–२० आई खेलमा कुल १० खेल भएका छन् । नेपाल ७ खेलमा जित र ३ खेलमा पराजित भएको छ। पछिल्ला पाँच भेटमा नेपाल तीन र मलेसिया दुई खेलमा विजयी भएका छन् ।