बुटवल,१७ माघ ।
बुटवल उपमहानगरपालिकाले यही सातादेखि ६० वर्षदेखि माथिका ज्येष्ठ नागरिकहरुको घर घरमा पुगेर निःशूल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

बाआमासँग नगर प्रमुख निःशूल्क स्वास्थ्य परिक्षण तथा उपचार कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाले घर घरमा पुगेर ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरेको हो ।

कार्यक्रमकाे तयारी स्वरूप उपमहानगरपालिकाले आज सराेकारवालाहरूसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

साे अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ज्येष्ठ नागरिक समक्ष शिष्टता, मर्यादित भएर स्वास्थ्यकर्मीले सेवा दिन निर्देशन दिए ।

उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्यको ख्याल राख्दै डाक्टर, नर्स ,स्वास्थ्यकर्मी घरमै पुगेर सेवा प्रदान गर्न सुरु गरिएको बताउदै उनलेे स्वास्थ्यकर्मीहरूकाे ब्यवहारले बिरामीको आत्मविश्वास बढ्नेगरि सेवा प्रवाह गर्नुपर्नेमा जाेड दिए ।

ज्येष्ठ नागरिकसँगै अपाङ्गता भएका क र ख बर्गका ५९१ नागरिकहरुलाई पनि घरमै पुगेर निःशूल्क स्वास्थ्य सेवा प्रदान गरिने उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले जानकारी दिए ।

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिहरुको घरमै पुगेर डाक्टरबाटै स्वास्थ्य परिक्षण,उपचार र परमर्श सेवा प्रदान गरिने र यो अभियानबाट २० हजार भन्दा बढि नागरिक लाभान्वित हुने उनले बताए । यही साताबाट सुरु हुने अभियानबाट सर्ने,नसर्ने रोगको परिक्षण, राेगकाे पहिचान र उपचारले ज्येष्ठ नागरिक लाभान्वित हुने उनको भनाइ छ । यो अभियानले नगरको मृत्यु दरमा कमी आउने स्वास्थ्य शाखाका अधिकृत यमलाल भुसालले बताए ।

उपमहानगरपालिका भित्र करिब २० हजार ज्येष्ठ नागरिक कार्यक्रमबाट लाभान्वित हुने बताईएको छ ।