बुटवल,१४ माघ ।
बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।

बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरुको संख्या वृद्धि हुन नदिन र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । शनिबारदेखि बुटवल उपमहानगरपालिकाको आयोजनामा वडा नं १५ नवरत्न मावि नजिकैको भवनमा ३ दिने अभियान शुरु भएको हो ।

अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरुको बन्ध्याकरणले कुकुरको संख्या वृद्धि रोकिने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बताए। उनले कुकुर पाल्नेहरुले सार्वजनिक स्थलमा दिसापिसाब गराउनेलाई कारबाही गर्ने जानकारी दिए ।

बुटवलमा सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरुको संख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव रानाले बुटवलका १९ वटै वडाका सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने बताए । बन्ध्याकरणपछि बुटवलमा सामुदायिक कुकुरहरुको संख्या वृद्धि रोकिने उनले बताए। पशुपंक्षी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडेले ३ दिनसम्म चल्ने कार्यक्रममा बुटवलका सबै वडाहरुबाट कुकुर संकलन गरि तीनको बन्ध्याकरण गरिने बताए ।

यसपटक वडा नम्बर १५ मा शुरु भएको अभियानमा बुटवलका सबै क्षेत्रका कुकुरहरु लगेर बन्ध्याकरण गर्ने उनले बताए। हरेक वर्ष बुटवल उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको संख्या वृद्धि हुन नदिन बन्ध्याकरण र रेबिज रोग फैलिन नदिन रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको उपमहानगरपालिकाले जनाएको छ ।