बुटवल,२ माघ ।
रुपन्देही व्यापार संघको आगामी नेतृत्वका लागि मंगलवार उम्मेदवारी दर्ता भएको छ । संघको १२ औं अधिवेशन अन्तरगत यही माघ ५ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम अन्तरगत मँगलबार दुई पदमा बाहेक सबै पदमा दोहोरो उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका अनुसार ९ पदाधिकारीसहित २० सदस्यमा कुल ४२ जनाको उम्मेदवारी परेको छ । संघको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी र द्वितीय उपाध्यक्ष दिपक अधिकारीको उम्मेदवारी परेको छ । यसैगरि वरिष्ठ उपाध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष प्रकाश ढकालको एकल उम्मेदवारी दर्ता भएको छ । प्रथम उपाध्यक्षमा वर्तमान महासचिव दयानिधि भण्डारी र कोषाध्यक्ष ऋषिराम पाण्डेले उम्मेदवार दिएका छन् । द्वितीय उपाध्यक्षमा पे्रमनाथ पाण्डे र नामदेव पाण्डेको उम्मेदवारी परेको छ ।
महासचिवमा वर्तमान सचिव फर्सुराम पन्त एकल उम्मेवदार भएका छन् भने कोषाध्यक्षमा वर्तमान सहकोषाध्यक्ष मणी खनालर झविन्द्र अधिकारी उम्मेदवार बनेका छन् । उता सचिवमा मनहरी बस्याल र मनिमदिन मिया सहसचिवमा प्रकाशपौडेल र मेघनाथ पौडेल तथा सहकोषाध्यक्षमा अर्जुन भट्टराई र विनित भट्टराईको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक अधिवक्ता लेखनाथ ढकालले बताए ।
कार्य समितिको २० सदस्य पदमा ३६ जनाको उम्मेदवारी परेको छ । संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन माघ ५ गते हुन गैरहेको छ । संघको अधिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । संघको निर्वाचन सम्पन्न गर्न संघका कानुनी सल्लाहकार लेखनाथ ढकाल प्रमुख निर्वाचन अधिकृत, प्रेस सल्लाहकार सुमन अधिकारी र प्रेस चौतारीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल आयुक्त रहेको निर्वाचन समिति गठन गरिएको छ ।
निर्वाचन कार्यक्रम अनुसार बुधवार ३ र ४ गते उम्मेदवारीमाथि दाबीविरोध तथा मनोनय फिर्ताको समय तोकिएको एवं उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ । निर्वाचनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहकोषाध्यक्ष, सहसचिव र सदस्य २० जना निर्वाचित हुने छन् ।