बुटवल,२३ पुस ।
१२६३ औं विश्वव्यापी रक्तदान अभियान अन्तर्गत तिलोत्तमाको शान्तिचोक योगिकुटीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पिता आन साङ् होङ् को १०६ औं जन्मोत्सवको अवसरमा निस्तार चाडको प्रेम, जीवन बचाउने प्रेम १२६३ औं विश्वब्यापी रक्तदान अभियान अन्तर्गत परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बुटवलको आयोजनामा रक्तदान भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले जुनसुकै धर्मको सार नै एक अर्कालाई प्रेम गर्नुपर्ने र त्यसले नै घर परिवार र समाज राम्रो बाटोमा अघि बढ्ने प्रगति गर्ने सर्वमान्य सिद्धान्त भएको बताए । उनले
रक्तदानले अरूको जीवन बचाउने र आफूलाई स्वस्थ बनाउने हुंदा रक्तदान अभियानमा सबै सहभागी हुनुपर्ने बताए । उनले परमेश्वर मण्डलीले सामाजिक रुपान्तरण र सामाजिक सेवाका क्षेत्रमा थुप्रै काम गरेको चर्चा गर्दै यो समाजसँग नगरपालिकाले सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा लुम्विनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, एन्फा रुपन्देही अध्यक्ष लोक पुनले मन्तव्य राख्दै रक्तदान अभियानमा सबै संघसंस्थाको सहभागिता हुनुपर्नेमा जोड दिए ।

परमेश्वरको मण्डलीका दीपेन्द्र श्रेष्ठले संस्थाले विभिन्न प्राकृतिक प्रकोप र अन्य समयमा मानवीय र समाजिक सेवाका काम संगै रक्तदान र सरसफाई लगायतका कामहरू गर्दै आएको जानकारी गराए । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा एक सय १० जनाले रक्तदान गरेका संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।