इलाम,२१ पुस ।
उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्नुभएका माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन् ।

विना सुनुवाइ भारतीय जेलमा चार दशक बिताएपछि २०७७ सालमा घर फर्काइएका उहाँलाई गएकाे वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ मा रहेकाे ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रीमा उपचारका लागि भर्ना गराएका थिए । छ महिनाअघि नै उहाँको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि अस्पतालको बिल तिर्न नसक्दा बन्धकझैँ भएर अस्पतालमै बस्नु परेको थियो ।

परिवारको कमजोर आर्थिक अवस्था बुझेर चितवनको ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिनले उपचारमा भएको खर्च नलिइ घर पठाएको छ । दुर्गाप्रसाद एक वर्ष नौ महिना सात दिन अस्पतालमा रहनुभएको अस्पतालले जनाएको छ । उहाँ निको भएको छ महिना भइसके पनि अस्पतालमा तिर्नुपर्ने करिब चार लाख १५ हजार रुपैयाँ नहुँदा घर जान पाइएको थिएन ।

विभिन्न सञ्चारमाध्यममा उपचार खर्च अभावले अस्पतालमै बस्न बाध्य दुर्गाप्रसाद शीर्षकमा समाचार आएपछि अस्पतालले उहाँले बुझाउन बाँकी रकम नलिइ घर पठाएको अस्पतालका अध्यक्ष डा गिरिराज भन्तानाले बताए । उनले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको जानकारी दिए ।

‘दुर्गाप्रसादमा देखिएको रोग सिजिफ्रेनिया हो’, डा भन्तानाले भन्नुभयो, ‘शत्प्रतिशत निको भएको त होइन तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ ।’ उहाँले दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने र अरूले भनेको काम गर्नसक्ने भएको बताए ।

‘छ महिनाअघि नै ठूलोबुबालाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको थियो’, दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भन्नुभयो, ‘अस्पताललाई बुझाउने पैसा नभएपछि करिब छ महिनादेखि अस्पतालमा बन्धकझैँ बन्नुभएको थियो, अस्पतालको छुटले राहत पायौँ ।’

दुर्गाप्रसादलाई २०७७ चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । दुर्गाप्रसाद २०३७ साल माघमा बेपत्ता भएका थिए । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनि २०७७ फागुनमा भारतकै कोलकातामा रहेकाे दमदम कारागारमा फेला पर्नुभयो । विभिन्न सङ्घ–संस्थाको पहलमा उनलाई २०७७ चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकमा रहेकाे घरमा ल्याइएको थियो ।

जिल्ला प्रशासन कार्यालय इलामले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो । कोशी प्रदेश सरकारले उहाँको केही उपचार निःशुल्क गरिदिएको थियो । उनको आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन माई नगरपालिकाले ५० हजार रुपैयाँ प्रदान गरेको थियो ।

उपचारपछि घर आएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो । लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिकरूपमा विक्षिप्त बन्नुभएका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताए ।