नवलपरासी,४ पुस ।
४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाकाे विवाह गराएको आरोपमा नवलपरासीबाट ५ जना पक्राउ परेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) साजनकुमार शर्माका अनुसार स्थानीय ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराएको आरोपमा पाँच जनालाई मङ्गलवार राति पक्राउ गरिएको हो । बालविवाह गराएको सूचनाका आधारमा विवाह गर्ने र गराउनेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएकाे उनलेे बताए ।

छोरीलाई दबाब दिएर विवाह गराएकाे भन्दै उनकी आमा, बालिकाका दुई सानीआमा, सानोबुवा र विवाह गर्नेलाई पक्राउ गरी १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

गत मंसिर २९ गते बालिकालाई उनकी सानीआमाको घर लगेर दबाब दिएर विवाहका लागि मन्जुर गराइएको उजुरी परेको प्रहरीकाे दाबी छ । त्याे उजुरीका आधारमा पाँचै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक शर्माले बताए । पक्राउ गरिएकामाथि मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया थालिएको उनकाे भनाइ छ ।

याे दफाअनुसार जबरजस्ती बालविवाह गर्ने/गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।