कपिलवस्तु,१८ मंसिर ।
कपिलवस्तुमा सञ्चालन भएको निशुल्क आँखा शिविरबाट ५ सय जना लाभान्वित भएका छन् । रोयल थाई मोनाष्ट्री लुम्बिनी र स्वर्णभूमि फाउण्डेशन तथा वाट थाई निग्रोधराम, लायन्स क्लब प्राचीन कपिलवस्तुको सहयोगमा सोमबार आयोजित शिविरबाट उनीहरू लाभान्वित भएका हुन् ।

विगत लामो समयदेखि सामाजिक सचेतिकरण तथा सेवालाई निरन्तरता दिँदै आएको रोयल थाई मोनाष्ट्री लुम्बिनीले बुद्ध स्थल निग्रोधराम (कुदान)मा निशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ ।

शिविर सञ्चालन संयोजक राजेश ज्ञवालीका अनुसार शिविरबाट ५ सय स्थानीय लाभान्वित भएका छन् । उनीहरू मध्ये एकसय ५० जनालाई मोतियाबिन्दुको अप्रेसनका लागि लुम्बिनी पठाईने उनलेे बताए ।

निशुल्क आँखा शिविरबाट पाँचसय जनाले आँखा सम्बन्धी स्वास्थ्य सेवा लिएकाे डाक्टर नामखेम लामाले जानकारी दिए । आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको उनको भनाई छ ।

गाउँगाउँमा स्वास्थ्य उपचारका शिविर सञ्चालन गर्दा ग्रामीण भेगका सर्वसाधारणलाई ठूलो राहत पुगेको संयोजक ज्ञवालीले बताए ।