बुटवल,१५ मंसिर ।
बुटवल स्थित सिद्धार्थ बाल तथा महिला अस्पतालमा शल्यक्रियामार्फत बच्चा जन्माएपछि मृत्यु भएकी गुल्मीकी ३२ वर्षीया भावना राजकोटीको शव चार दिनपछि आफन्तले उठाएका छन् ।
सुत्केरी बेथा लागेपछि मंसिर ११ गते बिहान साढे आठ बजेतिर अस्पताल पुगेकी राजकोटीले बिहान ११ः०७ बजे शल्यक्रियामार्फत् ५ किलोग्रामको छोरालाई जन्म दिएकी थिइन् । पहिलो दिन स्वास्थ्य अवस्था राम्रै रहे पनि दोस्रो दिन मंसिर १२ गते बिहान बेडबाट उठाउने क्रममा अचानक चक्कर लाग्यो भनेर बेडमै पल्टिएकी राजकोटीको सोही दिन दिउँसो २ बजेतिर मृत्यु भएको थियो ।
अस्पतालमा उपचारको क्रममा राजकोटीको मृत्यु भएपछि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै अस्पताल तोडफोड र चिकित्सकमाथि कुटपिट गरेपछि विवाद उत्पन्न भएको थियो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएपछि प्रहरीले कुटपिटमा संलग्न सात जनालाई पक्राउ गरेको थियो भने मृतक राजकोटीको शव चार दिनसम्म शववाहनमै अस्पताल परिसरमा राखिएको थियो ।
चार दिनसम्म मृतकका आफन्त, स्थानीय प्रशासन, बुटवल उपमहानगरपालिका, अस्पताल प्रशासन र नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि शव उठाउने सहमति भएको हो ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मृतकका आफन्त, स्थानीय प्रशासन, बुटवल उपमहानगरपालिका र नेपाल चिकित्सक संघका पदाधिकारीहरू बीचको सहमतिपछि शव उठाउने सहमति भएको जानकारी दिए ।
आम्दा नेपालद्वारा सञ्चालित आम्दा अस्पताल बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ लगायतका संघसंस्थाहरूको स्थानीय व्यवस्थापनमा सञ्चालन भइरहेको छ ।
सोही कारण राजकोटीको मृत्यु भएपछि अस्पताल व्यवस्थापनको स्थानीय समितिका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेको संयोजनमा सहमतिका लागि तीन दिनदेखि छलफल भइरहेको थियो ।
उपमहानगरप्रमुख पाण्डेको संयोजनमा भएको सर्वपक्षीय छलफलमा मृतकका २ जना बच्चाहरूको संरक्षणका लागि बुटवल उपमहानगरपालिकाले ५ लाख रुपैयाँ र गुल्मीको सत्यवती गाउँपालिकाले २ लाख रुपैयाँ दिने तथा चिकित्सकमाथि आक्रमण गर्नेहरूले सार्वजनिक रूपमा माफी माग्ने सहमति भएको बताइएको छ ।
चिकित्सकमाथि आक्रमण गर्नेहरूले सार्वजनिक रूपमा माफी माग्ने विषयमा लिखित सहमति गरिएको भए पनि रकम दिने विषयमा लिखित सहमति भने गरिएको छैन ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले रकम दिनेभन्दा पनि दुवै पक्षका बीचमा एक प्रकारको न्यायोचित समझदारी भएपछि अन्त्येष्टिका लागि मृतकको शव लैजाने तयारी भएको बताए ।






