कास्की,३० कार्तिक ।
पोखरा महानगरपालिका–२९ घोतघोतेमा रहेको दृष्टिविहीन आश्रममा आगलागी हुँदा झन्डै ७५ लाख रुपैयाँ बराबरको सामान नष्ट भएकाे छ । आगलागीबाट पाँच काेठे घर ध्वस्त भएको छ ।
दृष्टिविहीन र अपाङ्गगता भएका ३० जना बस्दै आएकाे साे आश्रममा बुधबार राति आगलागी भएको हो । आगलागीबाट उनीहरूले बजारमा लागेर बेच्ने अगरबत्ती, कपुर, पेन्सल, डटपेन, फिनेल, हार्पिक, अबिर, केशरीलगायतका सामग्री जलेर नष्ट भएका छन् ।
उनीहरूले बजारमा बिक्रीका लागि लैजान लागेका झन्डै ३४ लाख रुपैयाँ बराबरको सामग्री पनि नष्ट भएकाे दृष्टिविहीन सङ्घ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनीहरूले तिहारकाे बेलामा सामान बिक्रीबाट सङ्कलन गरेर आश्रममा राखेको झन्डै नाै लाख रुपैयाँ पनि जलेकाे सुवेदीले बताए । आगलागीबाट आश्रममा रहेका खाद्यान्न पनि नष्ट भएका छन् ।
दृष्टिविहीनहरुको समूह देउसीभैलो खेल्न गएका बेला बुधबार राति आगलागी भएको आश्रम सञ्चालक सुशील गोदारले जानकारी दिए ।
अपाङ्गगतामैत्री समाज कास्कीले घर भाडामा लिएर आश्रम सञ्चालन गर्दै आएको थियो । आगलागीपछि त्यहाँ बस्दै आएकाहरूको बिचल्ली भएको छ ।






