विराटनगर,१७ कात्तिक ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद बिस्तार गरेका छन् ।

मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई पनि समेटेर मन्त्रीपरिषद बिस्तार गरेका हुन् ।

मन्त्रीपरिषदमा माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगू नियुक्त गरेका हुन् । उनीहरुकाे मन्त्रालय भने तोकिएको छैन ।

नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले आज शुक्रबार नै पद तथा गोपनियताको शपथ गराएका छन् ।

नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

कार्कीले सहमतीय सरकार बनाउने भन्दै माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराए पनि एमालेले भने सरकारबाट बाहिरने चेतावनी दिएको छ ।

यसअघि कार्कीले एमालेसँग छलफल गरे पनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । कांग्रेस र माओवादी केन्द्रले एमालेबाट मन्त्री बनेका राम रानालाई बर्खास्त गर्न मुख्यमन्त्रीलाई दबाब दिएका छन् ।

तर संकटमा आफूलाई साथ दिएका कारण तत्काल बर्खास्त नगर्ने मुख्यमन्त्रीले बताउँदै आएका छन् ।