पोखरा,१५ कार्तिक ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा अन्नपूर्ण आधार शिविर पुगेर फर्किंदै गरेका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको मृत्यु भएको छ ।

घान्द्रुक प्रहरी चौकीका इन्चार्ज उनी आइतबार समुद्री सतहबाट ४ हजार १ सय ३० मिटरमा रहेको आधार शिविरमा हेलिकप्टरमा पुगेका थिए । मंगलबार गुटेरेस आधार शिविर पुगेर फर्किएपछि उनी पनि कास्कीको अन्नपूर्ण गाउँपालिकाको टोलीसँगै हिँडेर घान्द्रुक फर्किंदै थिए ।

मंगलबार २ हजार ३ सय ५० मिटर उचाइमा रहेको हिमालयमा उनी बास बसे । बुधबार विहान स्वासप्रस्वासमा समस्या आएपछि हेलिकप्टरमा पोखरा ल्याइएको थियो । पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी प्रमुख मोहनबहादुर थापाले बताए ।

उनलाई लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।