रूकुम पश्चिम,९ कार्तिक ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन टुटाएर सरकार ढाल्न अनेक कसरत भइरहेको बताएका छन् । बिहीबार रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका ६ मग्मामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रत्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

त्यस्तो षडयन्त्र कसले गरिरहेको छ भन्ने उल्लेख नगरी प्रधानमन्त्री प्रचण्डले अनेकन षड्यन्त्र चिरेर सरकारअघि बढ्ने पनि बताए । उनले कांग्रेससँगको गठबन्धन र सरकारले पाँच वर्ष पूरा गर्ने विश्वास ब्यक्त गरे ।

बाँफिकोट ६ मा आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले आफ्नो नेतृत्वमा भ्रष्टाचारविरूद्धको अभियान जोडतोडका साथ अघि बढेको पनि दाबी गरे । ‘अहिले अघि बढाइएको भ्रष्टाचार विरोधी अभियान कुनैपनि हालतमा रोकिन्न,’ उनले भने, ‘अरू पनि थुप्रै विषय छन् । सबै फाइल खोलिन्छ र कारबाही अघि बढाइन्छ । ढुक्क हुनुस् ।’

त्यस्तै प्रधानमन्त्री दाहालले आफूले नै ‘प्रचण्डपथ’ त्यागेको स्वीकार गर्दै यसपछी माओवादी टुटफुटको अवस्थामा पुगेकोमा दु:ख व्यक्त गरे । ‘अब व्यापक रूपमा विचारको बहस गरिनेछ । अनि पर्टीलाई नयाँ शिराबाट अघि बढाइनेछ,’ उनले भने, ‘अब सबै माओवादी एकीकृत भएर अघि बढ्नुको विकल्प छैन ।’

माओवादी केन्द्रले थालेको ३ महिने ‘विशेष रूपान्तरण अभियान’ अन्तरगत बाँफिकोट ६ र ७ को संयुक्त बैठकमा समेत दाहाल सहभागी भएका थिए । उनीसँगै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र माओवादी केन्द्रका उपमहासचिवद्वय जनार्दन शर्मा र मातृका यादव पनि बिहीबार रूकुम पश्चिम पुगेका थिए ।

मन्तव्यका क्रममा प्रधानमन्त्री दाहालले यहाँबाट फर्केलगत्तै रूकुमको पक्षमा मन्त्रिपरिषद्‌बाट विशेष निर्णय गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।