बुटवल,२१ असाेज ।
बुटवलको जितगढी स्थित एडमण्ड सिटी अस्पतालमा भारतीय भुपु सैनिक स्वास्थ्य सेवा कार्यक्रम लागू भएको छ ।
कार्यक्रमकाे आइतबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले शुभारम्भ गरेका हुन् ।
साे अवसरमा बाेल्दै स्वास्थ्य मन्त्री खनालले सिमित स्रोत साधनका बाबजुद पनि प्रदेश सरकारले प्रदेशका जनतालाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यमा लागेको बताए ।
देशको स्वास्थ्य नीतिमा भएका अस्पष्टताका कारण आम नेपाली जनतालाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन कठिनाई भएको भन्दै उनलेे स्वास्थ्य नीति परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याए ।
दुर्गम क्षेत्रका जनतालाई पनि सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले दुर्गम क्षेत्रमा जाने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अतिरिक्त सेवा उपलब्ध गराउने नीति लिएको उनको भनाइ थियो ।
अस्पतालका अध्यक्ष प्रकाश रानाले जनतालाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने दायित्व राज्यको भए पनि तत्काल राज्यले साे सेवा उपलब्ध गराउन सक्ने अवस्था नरहेकाले त्यसबेलासम्म निजी अस्पतालबाट सेवा लिनुकाे बिकल्प नभएको बताए ।