सर्लाही,११ असाेज ।
सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाकी २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ ।
बुधबार दिउँसो मनुषमारा घाटमा जलाउने तयारी गरिएको अवस्थामा मनिषाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको मृत्यु शंकास्पद देखिएकाे भन्दै जलाउन ठिक्क पारिएको शव नियन्त्रणमा लिनुकासाथै प्रहरीले मनिषाका श्रीमान सुनिल साह, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरेको छ ।
मृतकका श्रीमान सुनिल शाहसहित तीनजनालाई पक्राउ गरेर घटनाका बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरुलाई घाटबाटै नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीको भनाइ छ ।
छारे रोगबाट पीडित मनिषाले आत्महत्या गरेको परिवारका सदस्यले दाबी गरेका छन् भने प्रहरीले शंकास्पद ठानेर शव नियन्त्रणमा लिनुकासाथै परिवारका सदस्यलाई पक्राउ गरेको हो ।
संकलित प्रमाण र शवको पोष्टमार्टमको रिपोर्टपछि सबै थाहा हुने प्रहरीले जनाएको छ ।
युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखिएको छ ।






