काठमाडौँ,८ असाेज ।
राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहलाई अधिकार दिन कन्जुस्याइँ गर्न नहुने बताएका छन् ।

सोमबार महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्र भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन् ।
संघीयतालाई कार्यान्वयनमा लैजान नसकिएको भन्दै राष्ट्रपति पाैडेलले संघ, प्रदेश र पालिकाहरु सबैलाई अधिकारको बाँडफाँट मिलाएर जानुपर्ने चुनौती रहेको बताए ।

राष्ट्रपति पौडेलले स्थानीय तहलाई नियन्त्रित गरेर अधिकार दिने गरिएको भन्दै स्थानीय तहलाई अधिकार दिन कन्जुस्याइँ गर्नु नहुनेमा जाेड दिए । जनतालाई अधिकार दिने कुरामा कुनै कन्जुस्याइँ गर्न नहुने बताउदै उनले संघीयताअनुसार अधिकार दिन शीर्ष तीन दलका नेताहरुसँग आफूले आग्रह गर्ने प्रतिवद्वता ब्यक्त गरे ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरेको थियो ।

उपमहानगरपालिका मेयर मनोज साहले उनलाई नागरिक अभिनन्दनसहित मायाको चिनो दिएर स्वागत समेत गरेका थिए ।
यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य जुली महतो र मुख्यमन्त्री सरोजकुमार यादव समेतले राष्ट्रपति पाैडेललनई मायाको चिनो दिई सम्मान गरेका थिए । यसअघि राष्ट्रपति पौडेलले सोमबार बिहान जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका थिए ।