सल्यान, ८ असोज ।
सल्यानको कपुरकोटमा सोमबार बिहान तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
मृतक दुबै जना पुरुष्को सनाखद हुन बाँकी रहेको सल्यानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।
घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका – २ का ३५ बर्षीय नारायण योगि रहेका छन् ।
घाइते डाँगीलाई कपुरकोटमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।
रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ जादै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप सल्यानको कपुरकोट गाउँपालिका – ३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।
जीप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घटना बारे बिहान सवा ६ बजेतिर प्रहरीलाई स्थानीयले सूचना दिएका थिए ।









